083520307 info@surkhetcampus.edu.np

सुर्खेत क्याम्पस (शिक्षा) गुणस्तर सुधारको बाटोमा अघि बढ्दै !

Date and time :2021-01-29 02:36:58

सुर्खेत । त्रिभुवन विश्वविद्यालयको कर्णाली प्रदेशमा अवस्थित एकमात्र ‘क’ बर्गको आंगिक क्याम्पस, सुर्खेत क्याम्पस (शिक्षा)को गुणस्तर सुधारका लागि प्रयास थालनी गरिएको छ । क्याम्पसको बृहत्तर विकासका लागि सम्बन्धित प्राध्यापक, कर्मचारीहरुबीच विहिबार कार्यशाला गोष्ठी तथा अन्तरक्रिया आयोजना गरिएकाे हाे । आन्तरिक गुणस्तर सुनिश्चितता समिति सुर्खेत क्याम्पस (शिक्षा)द्वारा आयोजित एक दिने गुणस्तर सुनिश्चितता प्रणाली तथा स्व अध्ययन विवरण तयारी सम्बन्धी कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा प्राध्यापक डा. सिपी रिजालले शैक्षिक गुणस्तर सम्बन्धमा प्रशिक्षण दिएका थिए । रिजालले शैक्षिक संस्थाको गुणस्तर सुधार तथा सुनिश्चितताका लागि प्राज्ञिक, व्यवस्थापकीय, प्राविधिक, भौतिक लगायतका सम्पूर्ण पक्षको सुधार गर्नुपर्ने बताए । क्याम्पस प्रमुख एवंम् उक्त अन्तरक्रिया कार्यक्रमका अध्यक्ष माधवप्रसाद खनालले क्याम्पसको गुणस्तर सुधारको लागि सबैको साथ अपरिहार्य हुनेभन्दै सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए । ‘क्याम्पसले हामीलाई के दियो भन्नुपूर्व हामीले क्याम्पसका लागि के दियौं भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ’ खनालले भने, ‘प्राज्ञिक क्षेत्रको सुधारका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु आवश्यक देखिन्छ ।’ अन्तरक्रिया कार्यक्रमको सहजीकरण समितिका सदस्य–सचिव एवंम् सहायक क्याम्पस प्रमुख राजन कँडेलले गरेका थिए भने समितिका सदस्य एवंम् प्राध्यापक शरद पौडेलले सहभागीलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । त्यस्तै, कार्यक्रमका सहभागीलाई सहायक क्याम्पस प्रमुख राधा ढकालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।कार्यक्रममा उपस्थित सुर्खेत क्याम्पस (शिक्षा)का प्राध्यापक तथा कर्मचारीको उत्साहले क्याम्पसमा सुधारको अपेक्षा गरिएको छ ।